काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ लाख ९ हजार ८८ जना कर्मचारी खटाएको छ । मौन अवधि सुरु हुनुअघि आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि खटाइएका कर्मचारीहरू मदान केन्द्रमा पुगिसकेका छन् । यस्तै, ६५ हजार ८६५ जना स्यंवसेवकहरू खटाइएको आयोगले जनाएको छ ।
प्रवक्ता शर्माका अनुसार निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये ६५ वटा दलहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्नेछन् ।
विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
५५ हजार ६५८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।





