श्रमको सम्मान गर्न राष्ट्रपति भण्डारीको आह्वान


१८ बैशाख २०७९, आईतवार ०७:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गर्नु भएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले उक्त अपेक्षा गर्नु भएको छ।

राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभयो ।

शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।”

विश्वभरिका श्रमिकहरूले एकापसमा ऐक्यबद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here