झापा । स्थानीय तह निर्वाचनमा प्रतिष्पर्धा गर्न मनोनयन पत्र दर्ता गराएका झापाका १३९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्।
पालिकाका प्रमुख एवम् अध्यक्ष पद्मा उम्मेद्वारी दिएका ८ जनाले उम्मेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगर प्रमुखमा उम्मेद्वारी दिने ३ र अध्यक्षमा उम्मेद्वारी दिने ५ जनाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको हो। उपप्रमुख २ र उपाध्यक्षमा उम्मेद्वारी दर्ता गर्ने ७ जनाले उम्मेद्वारी फिर्ता लिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार १५ स्थानीय तहबाटै उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन्। जिल्लामा सबैभन्दा कम कमल गाउँपालिकाका उम्मेद्वारले फिर्ता लिए।
कनकाईमा ११ जना, शिवसताक्षीमा ११, दमक १३, गौरीगञ्ज ३, गौरादह ८, कमल १, झापा २, बाह्रदशी ३, हल्दिवारी ३, कचनकवल ७, अर्जुनधारा २०, बुद्धशान्ति १६, मेचीनगर १६, बिर्तामोड १७ र भद्रपुरमा ५ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका हुन्।
बुद्धशान्तिमा अध्यक्षको उम्मेद्वारी दिने स्वतन्त्रबाट लक्ष्मीप्रसाद सुवेदी र नेकपा समाजवादीबाट दुर्गा आचार्यले उम्मेद्वारी फिर्ता लिएका छन्। सोही पालिकामा उपाध्यक्षमा उम्मेद्वारी दिनेहरु मनोरथ तिवारी, गीता खतिवडा, तारा श्रेष्ठ, अस्मिताकला लिम्बुले उम्मेद्वारी फिर्ता लिएका छन्।
नेकपा समाजवादीबाट अर्जुनधाराको मेयर/उपमेयरमा उम्मेद्वारी दिने क्रमशः रमा खवास र प्रेम सागर सापकोटाले उम्मेद्वारी फिर्ता लिएका छन्। कचनकवलमा एमालेबाट अध्यक्षमा उम्मेद्वारी दिने दुर्गादेवी नेपाल, स्वतन्त्रबाट मेखबहादुर भट्टराई र कांग्रेसबाट अध्यक्षमा उम्मेद्वार दिने सेलेतुन खातुनले उम्मेद्वार फिर्ता लिनु भएको हो। कांग्रेसबाट हल्दिवारीमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने चन्द्रकला चाम्लिङले पनि उम्मेद्वारी फिर्ता लिनु भएको छ।
बाह्रदशीमा विवेकशीलबाट अध्यक्षमा उम्मेद्वारी दिने भुपिन भेटवालले उम्मेद्वारी फिर्ता लिनु भएको छ।
झापा गाउँपालिकामा स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेद्वारी दिने केशव बजगाई, गौरादहको प्रमुखमा जनता दलबाट उम्मेद्वारी दिने राम बराईली, दमकमा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुख-उपप्रमुखमा उम्मेद्वारी दिने धनराज राई, धनमाया थापा मगरले उम्मेद्वारी फिर्ता लिएका छन्।
वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका ४९ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन्।





