भैरहवा। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाईन्सको वाइडबडी ए–३३० जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ ।
महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताउनु भयो ।





