काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गर्नु भयो ।
नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नु भयो ।
उहाँले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहोर्याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनु भयो ।
स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सैह्य नहुने बताउनु भयो ।
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दवाव दिनु भयो ।