झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखा र पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोससंगको लागत साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महातारा प्रसाई र सहारा नेपाल साकोस चारपानेका सहसचिव ज्ञानुनाथ मैनालीले संयुक्तरुपमा उक्त सामाग्री वितरण गर्नु भयो ।
मकै छोडाउने मेशिन विभिन्न वडाका २५ वटा कृषक समुह र च्यापकटर ६० जना कृषकहरुलाई वितरण गरीएको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७८/०७९को वार्षिक स्विकृत कार्यक्रम अनुसार सामाग्री वितरण गरीएको जनाइएको छ । मेशिन वितरण कार्यक्रममा विर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक,सहारा नेपाल साकोसका शंकर रिजाल,नगरको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले यस अघिका वर्षहरु देखिनै कृषकहरुलाई पावर टेलर,मकै छोडाउने मेशिन,धान काट्ने मेशिन,चिया टिप्ने मेशिन,मिनि टेलर,ग्रिनेट स्प्रे टयाङ्की लगायतका विभिन्न उपकरण तथा सामाग्रीहरु वितरण गर्दै आएको छ ।