अर्थमन्त्री शर्माप्रति ओलीको कटाक्षः ‘अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो’


२६ चैत्र २०७८, शनिबार १३:५३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताउनु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताउनु भएको हो ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको आरोप समेत लगाउनु भयो ।

अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाउनु भयो ।

त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दावी गर्नु भयो ।

उहाँले क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here