मोरङ । मोरङको उर्लाबारीमा पिकअप भेनको ठक्करबाट बिहीबार राति एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअपले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार राति ८ः४० बजेतिर दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–३ का अन्दाजी २८ वर्षीय राजन घिमालको मृत्यु भएको हो ।
दुर्घटनामा परेर शरीरका विभिन्न भागमा चोट लागेका धिमालको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ९ः२५ बजेतिर मृत्यु भएको एसपी खतिवडाले बताए ।
प्रहरीले पिकअप भेन र चालक उर्लाबारी–४ का २१ वर्षीय दीपेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
गलत लेनमा चलाएको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।





