काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चारबुँदे सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सहज हुने भएको छ।
निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो।
पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।
सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेका छन्।





