काठमाडौँ, १६ चैत । संघीय राजधानी काठमाडौं वायु प्रदूषण बढेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।
वायु प्रदूषणका कारण दैनिक दुई सय हाराहारी उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान पनि आन्तरिक उडान प्रभावित भएका छन् ।
बुधबार अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन् ।
मंगलबार पनि एक दर्जन आन्तरिक उडान कटौती भएका थिए ।
भिजिबिलिटी घट्दा सोमबार ८ वटा उडान रद्द भएकामा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने र फर्किने १२ उडान स्थगन गरिए।
तीन दिनयता तालिकाभन्दा कम्तीमा डेढ घण्टादेखि तीन घण्टासम्म उडान डिले (ढिलाइ) भएको वायु सेवाहरूले जनाएका छन्।
निजी वायु सेवा कम्पनीहरूले काठमाडौंबाट भद्रपुर, विराटनगर, लुक्लालगायत पहाडी स्थानका लागि तोकेका उडान स्थगन गरेका छन् ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार समयमै उडान रद्दबारे यथार्थ जानकारी दिने प्रणाली नहुँदा विमानस्थलमा यात्रुको चाप अत्यधिक छ ।





