झापा, १५ चैत । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको एउटा मदरसामा विद्यार्थीका लागि विद्यालय पोषाक वितरण गरेको छ।
बिर्तामोड नगरपालिका ३ बिर्ताबजारस्थित मदरसा तालिमुल कुरानमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले विद्यार्थीलाई पोषाक वितरण गरेका हुन्।
उक्त मदरसामा पढ्ने १०७ जना विद्यार्थीलाई पोषाक वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो।
उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी अध्ययनरत छन्।
पोषाक वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले भन्नुभयो, ‘नगरपालिकाले साना बालबालिकाका लागि पुग्ने विद्यालय पोषाक वितरण गर्ने लक्ष्य राखेको छ।’
कार्यक्रम नगरपालिकाका प्रमुख शिवाकोटीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानको सभापतित्वमा सम्पन्न भएको थियो।





