काठमाडौं, १५ चैत । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ।
निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।
जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ ।
‘नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं,’ आचार्यले भन्नुभयो, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’
उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ-कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निर्क्यौल गर्ने उहाँले बताउनु भयो ।
उहाँका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उहाँले बताउनु भयो ।





