झापा । भद्रपुर वडा नम्बर ६ प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । भद्रपुर– ५ स्थित भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर उच्च माविको खेल मैदानमा गए राति भएको फाइनल खेलमा उपाधिका दाबेदार मानिएका वडा नम्बर ४ लाई २५–१७, २५–१९ को सोझो सेटमा हराउँदै वडा नम्बर ६ ले उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै वडा ६ ले नगद ३५ हजारसहित ट्रफि पाए । उपविजेतामा चित्त बुझाएका वडा ४ ले नगद २० हजारसहित ट्रफि पाए । भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले विजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्नु भयो।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा ६ का हेमन्त विश्वकर्मा, वेस्ट स्पाइकर वडा ४ का भरत राजवंशी, वेस्ट वलकर वडा ५ का सञ्जय चौधरी, वेस्ट डिफेन्डर वडा ४ का बुद्धिमान राजवंशी र उदयमान खेलाडीतर्फ वडा ३ का अभि राजवंशी घोषित भए । उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
गए राति नै भएको फाइलनमा पुग्न अघि वडा नम्बर ६ ले सेमिफाइनलमा वडा ५ लाई २५–१३, २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै वडा नम्बर ४ ले सेमिफाइनलमा वडा ३ लाई २५–२१, १८–२५ र २५–२२ वेस्ट अफ थ्रीमा पराजित गर्दै फाइनलमा पुगेका थिए । भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीको अध्यक्षता तथा मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, वडा नम्बर ४ का वडा अध्यक्ष हंशधर राजवंशी लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य सचिव सिकेन्द्र यादवले राखेको कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन् ।





