झापा, मंसिर २२ । आज राम सीता विवाह पञ्चमी त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीताको बिहे भएको सम्झनामा महोत्सव मनाइँदै छ ।
विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन छ । यस दिन जनकपुरमा विशेष रौनक हुन्छ ।
जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । यसको मुख्य आकर्षण आज हुने राम–जानकीको प्रतीकात्मक विवाह हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ ।
यस अवसरमा सहभागी हुन नेपालका विभिन्न प्रदेशका साथै छिमेकी मुलुक भारतको अयोध्याबाटसमेत श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् । गत वर्ष भने कोरोना संक्रमणको कारण औपचारिकता पूरा गर्नमात्र राम(जानकी विवाह महोत्सव मनाइएको थियो ।





