कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवारका लागि संस्थापन र इतरपक्षबीच बैठक बस्दै


२१ मंसिर २०७८, मंगलवार १२:२० मा प्रकाशित

काठमाण्डौ, मंसिर २१ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन सुरु हुने दिन नजिकिँदै गए पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुङ्गो लागेको छैन ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोज्नु भएको छ । यस्तै, संस्थापन इतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने टुङ्गो लागेको छैन । हिजो बेलुका रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन छलफल भए पनि सहमति जुट्न सकेन ।

हिजो पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, सहमति नभए पछि आज फेरि बैठक बस्न लागेको हो। दिउँसो १ बजे बस्ने बैठकले साझा उम्मेदवार तोक्ने सम्भावना छ ।

यस्तै, कांग्रेसको महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाण्डौ जाने क्रम सुरु भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आउँदो शुक्रवारदेखि आइतवारसम्म काठमाण्डौमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here