काठमाडौं, कार्तिक १६ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरुको दोस्रो महान् चाड यमपञ्चक अर्थात तिहार मङ्गलबारबाट सुरु हुँदैछ । मङ्गलबार बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान मङ्गलबारदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार परेको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार बेलुका यमदीपदान सुरु हुन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
बुधबार बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि रहेको छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि बुधबार नै गर्नुपर्नेछ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।





