बाँदर आतंकले हिलिहाङका किसान चिन्तित : खेतीयोग्य जमिन बाँझिने खतरा झनै बढ्यो


१४ जेष्ठ २०८३, बिहीबार १४:४७ मा प्रकाशित

पाँचथर, देव वाँस्कोटा । पाँचथरको हिलिहाङ गाउँपालिकामा बाँदरको आतंक बढ्दै जाँदा किसानहरू मारमा परेका छन् । खेतबारीमा लगाइएको मकैबाली बाँदरले धमाधम नष्ट गर्न थालेपछि स्थानीय कृषकहरू रातदिन खेत कुर्न बाध्य बनेका हुन् ।

दुःख गरेर छरेको मकै पाक्न नपाउँदै बाँदरका हुल खेतमा पस्ने र बाली सखाप पार्ने गरेको किसानहरूको गुनासो छ । बिहानैदेखि बेलुकासम्म खेतमा बस्दा पनि बाँदर धपाउन मुस्किल हुने गरेको स्थानीय बताउँछन् । कतिपय किसानले टिन ठटाउने, कराउने, गुलेली चलाउनेलगायत उपाय अपनाए पनि समस्या नियन्त्रणमा आउन सकेको छैन ।

स्थानीयका अनुसार पछिल्लो केही वर्षयता बाँदरको संख्या ह्वात्तै बढेको छ । जंगल नजिकका बस्तीमा बाँदरले मकै, आलु, फलफूल तथा तरकारी खेतीमा समेत क्षति पु¥याउन थालेपछि किसानहरू चिन्तित बनेका छन् । खेती गरेर जीविकोपार्जन गर्दै आएका धेरै परिवार अहिले बाली जोगाउने कि अन्य काम गर्ने भन्ने दोधारमा परेका छन् ।

कृषकहरूले बाँदर नियन्त्रणका लागि पटक–पटक आवाज उठाए पनि गाउँपालिका स्तरबाट प्रभावकारी पहल नभएको आरोप लगाएका छन् । “खेती गर्नै नसक्ने अवस्था आयो, तर समस्या समाधानका लागि कसैले चासो दिएको छैन,” एक स्थानीय किसानले गुनासो गरे ।

बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझिने खतरा बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल दीर्घकालीन समाधानको माग गरेका छन् । कृषकहरूका अनुसार समयमै नियन्त्रणको उपाय नअपनाइए आगामी दिनमा कृषि उत्पादनमा अझ ठूलो असर पर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here