हाम्रो नेपाल साकोसद्वारा आदर्श आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग


७ जेष्ठ २०८३, बिहीबार १४:१७ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड–४ मा रहेको हाम्रो नेपाल साकोसले इलामको सूर्योदय नगरपालिका–८, कजनीमा रहेको आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जेठ ६ गते विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बीच उक्त सामग्रीउ हस्तान्तरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम सापकोटाको अध्यक्षतामा सम्पन्न सामग्री वितरण कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिका–८ का वडाध्यक्ष जङ्गबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक विकास र अतिरिक्त क्रियाकलापमा सहकारीले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

हाम्रो नेपाल साकोसका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले सहकारीहरू नाफामूलक व्यवसायमा मात्र सीमित नभएर सामाजिक रूपान्तरण र शिक्षाको विकासमा पनि सारथी बन्नुपर्छ भन्ने मान्यताका साथ सहयोग गरिएको धारणा राख्नुभयो ।

त्यस्तै, विद्यालयकी प्रधानाध्यापक सावित्रादेवी राईले सहकारीको यस प्रकारको सहयोगले ग्रामीण भेगका विद्यार्थीमा विद्यालय आउने र सिक्ने उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्थाका व्यवस्थापक सरोज दाहालले सहकारीको सामाजिक उत्तरदायित्व र संस्थागत अभियानबारे प्रकाश पार्नुभएको थियो । “हामीले वित्तीय कारोबारसँगै समाजप्रतिको दायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यसअघि पनि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको थियो । आगामी दिनमा पनि ग्रामीण क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने हाम्रो योजना छ ।

सामग्री वितरण कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेल, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here