काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीकोे तुम्लिङमा आइतबारदेखिको हिमपातका कारण फसेका चार विदेशी नागरिकको बिहीबार उद्धार गरिएको छ । स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
चार विदेशी नागरिक, तीन टुरिस्ट गाइड र पाँचजना स्थानीय सो ठाउँमा पाँच दिनदेखि फसेका थिए । त्यस क्षेत्रमा तीन फिटसम्म हिउँ परेकाले उनीहरू रोकिएका हुन् ।
‘‘हिमाली क्षेत्र लिमीको पदयात्रा सकाएर सदरमुकाम सिमकोट फर्केने क्रममा भारी हिमपात हुँदा फसेका चार विदेशी नागरिकको उद्धार भइसकेको छ । अरू आठजनाको उद्धार हुनेक्रम जारी छ । फसेकाहरूले आफैँले हेलिकप्टरको रुपैयाँ तिरेका छन् । उनीहरु ट्रेकिङ कम्पनीमार्फत आएका हुनाले ट्रेकिङ कम्पनीसँग प्रशासनले समन्वय गरेर उनीहरूकै हेलिकोप्टर पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।





