झापा, ४ कात्तिक । आइतबारदेखि लगातार चार दिनसम्म परेको वेमौसमी वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको छ ।
आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । त्यस्तै, इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।
विपद्बबाट २० जिल्ला प्रभावित बनेका छन् । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् भने इलाममा दुई जना पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।





