स्वेच्छिक अवकास पछि अबको योजना ‘समाजसेवा र राजनीति’ -देवराज कार्की


४ कार्तिक २०७८, बिहीबार २०:४१ मा प्रकाशित

झापा ।  बिर्तामोड नगरपालिकाको शाखा अधिकृत पदबाट स्वेच्छिक अवकास लिनु भएका देवराज कार्कीले अबको यात्रा समाज सेवा र राजनीति भएको बताउनु भएको छ ।
उहाँले गत कात्तिक १ गते देखिनै लागु हुने गरी राजीनामा दिएर ३१ वर्ष लामो सरकारी जागिरे जीवनबाट विदा लिनु भएको हो । अधिकृत स्तरको आठौँ तहको सेवाबाट अझै करीब २ वर्षको समय हुँदा हुँदै पनि विदा लिनु भएका कार्की सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ ।

कार्कीले नेपालको निजामति सेवामा २०४७ साल साउन ८ गते मुखिया पदमा जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङ्गबाट सरकारी सेवा सुरु गर्नु भएको थियो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सेवाको अवधीमा सेवाग्राही समक्ष कुनै गल्ती कमिकमजोरी भएको भए क्षमा समेत माग्नु भएको छ ।

कार्कीले बिर्तामोड नगरपालिका अघि जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङ्ग, शिक्षा कार्यालय धनकुटा,जिल्ला शिक्षा कार्यालय झापा,शैक्षिक तालिम केन्द्र भोजपुर, जिल्ला बन कार्यालय झापा, लगायत विभिन्न सरकारी कार्यालयमा रहेर काम गर्नु भएको छ ।

निडर,निष्पक्ष र स्पष्टवक्ताको रुपमा चिनिनु हुने कार्कीले नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय कमिटि सल्लाहकार तथा नेपालका २६ वटा पेसागत संघ संस्थाको छाता संगठन पेसागत महासंघ नेपालमा समेत रहेर अनुभव बटुल्नु भएको छ ।उहाँ अहिले पनि पेसागत महासंघ नेपाल प्रदेश नम्बर १को अध्यक्ष हुनुहुन्छ ।

प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको समयमा समेत विशेष भुमिका निर्वाह गर्नु भएका कार्की २०६२/६३को जनआन्दोलनमा घाइते हुनु भएको थियो । उहाँ अहिले नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्छ ।

आफुलाई सुशासनको अभियान्ता,बिकास र आर्थिक सम्वृद्विको संवाहकका रुपमा उभ्याउँदै आउनु भएका कार्कीले अवको आफ्नो योजना मुलुकको सामाजिक,आर्थिक र साँस्कृतिक रुपान्तरणको निम्ति सक्रियतापूर्वक सामाजिक गतिबिधिमा लाग्ने बताउनु भएको छ । हाल बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थायी निवासी कार्कीले जनसंख्या बिषयमा मास्टर डिग्रीसम्मको अध्ययन तथा प्रशासन र बिकास सम्बन्धि देश बिदेशको तालिम प्राप्त गर्नु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here