बिर्तामोड, देव बाँस्कोटा । श्री बालाजी धाम बिर्तामोडबाट नेपालकै पहिलो एकल पैदल धार्मिक यात्राको सुरुआत भएको छ ।
दिनेश अग्रवालले कुनै सहयात्री बिना एक्लै १७२० किलोमिटर लामो पैदल यात्रा गर्दै भारतको राजस्थानस्थित प्रसिद्ध श्रीश्याम मन्दिर खाटुधामतर्फ आज औपचारिक रूपमा प्रस्थान गर्नुभएको हो । नेपालबाट खाटुधामसम्मको यो एकल पैदल यात्रा नेपालकै पहिलो धार्मिक पदयात्रा भएको बताइएको छ ।
धार्मिक आस्था, दृढ संकल्प र आत्मअनुशासनको अनुपम उदाहरणका रूपमा हेरिएको यस यात्राको अनुमानित अवधि ४५ देखि ५० दिन रहने लक्ष्य तय गरिएको छ । यात्राका क्रममा अग्रवालले दैनिक करिब ४० किलोमिटर पैदल हिँड्ने योजना बनाएको जानकारी दिनुभएको छ ।
यात्रा सुरु गर्दा उहाँले कपडाको जुत्ता लगाएर पैदल यात्रा थालेको बताउँदै यात्राका क्रममा स्थान, मौसम तथा परिस्थितिअनुसार अघि बढ्ने जानकारी दिनुभएको छ । लामो दूरी, भौगोलिक कठिनाइ र मौसमका चुनौतीलाई भक्तिभाव र आत्मबलका साथ सामना गर्दै यात्रा अघि बढाइने उहाँको भनाइ छ ।
यस एकल यात्राका क्रममा अग्रवालको खाने–बस्ने सम्पूर्ण व्यवस्था नेपाल र भारतका विभिन्न स्थानमा रहेका श्याम भक्तहरूले स्वस्फूर्त रूपमा मिलाउने बताइएको छ। भक्तजनहरूको सहयोग, सद्भाव र आस्थाले यात्रालाई थप सहज र प्रेरणादायी बनाउने अपेक्षा गरिएको छ ।
धार्मिक आस्था, अनुशासन र धैर्यको प्रतीकका रूपमा रहेको यो एकल यात्रा केवल व्यक्तिगत साधना मात्र नभई नेपाल–भारत धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप मजबुत बनाउने सन्देशका रूपमा पनि हेरिएको छ ।
यात्राको सफलताका लागि स्थानीयवासी, धार्मिक संघसंस्था, श्याम भक्त तथा शुभेच्छुकहरूले अग्रवाललाई शुभकामना व्यक्त गरेका थिए ।






