बिर्तामोड । होप फर चिल्ड्रेन संस्थाको आयोजनामा तथा इन्द्रचन्द्र कलेजको सहयोगमा झापाको बिर्तामोड नगरपालिका–६ अन्तर्गत विभिन्न क्षेत्रमा आज एकदिने सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका संयोजक पूजन लिम्बुले स्वच्छ वातावरण र स्वस्थ जीवनका लागि सरसफाइ अत्यन्त जरुरी रहेको बताउनुभयो । उहाँले घर तथा समाजबाट निस्किएको फोहोर मैलालाई आफैले सही ठाउँमा सदुपयोग गरी समाजलाई सफा र स्वच्च राख्न आफैबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

स्थानीय समुदायको सहयोग र सहभागिताले यस अभियानलाई सफल बनाउन सरसफाईलाई निरन्तर जारी राख्ने बताउनुभयो । आज संस्थाले लालीगुराँस, तक्षशिला, अनारमनी आधारभूत विद्यालय, कदम तला टोल, स्थल डाँगीचोक र नुरुटोल लगायतका क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो ।
बस्ती तथा सार्वजनिक स्थानको फोहर संकलन गरी स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, यस कार्यक्रममा निराकार सरसफाइ सेवाले आवश्यक सरसफाइ सामग्रीहरू उपलब्ध गराएको थियो ।

होप फर चिल्ड्रेन संस्थाले नागरिकहरूलाई ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने सन्देश प्रवाह गर्न विभिन्न टोलमा फोहर व्यवस्थित गर्नको लागि १४ वटा ह्याभी डस्टबिन राखिदिने बताएको छ ।
आजबाट सुरु भएको यो सरसफाइ अभियान भोलि बुटाबारी बजार तथा विद्यालय आसपासका क्षेत्रमा सरसफाइ गर्दै सम्पन्न हुने जनाइएको छ । कार्यक्रममा स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, स्वयंसेवक तथा संस्थाका सदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रमका संयोजक पूजन लिम्बु रहेका थिए भने प्रमुख अतिथि वडा सदस्य गीता रेग्मी रहनुभएको थियो । उक्त सरसफाइ अभियानमा शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूले सक्रिय सहभागिता रहेको थियो ।






