काठमाडौँ, असोज २६ । गोरखास्थित गोरखा दरबारबाट काठमाडौंको हनुमानढोकामा फूलपाती पठाइएको छ । गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम रहेको छ ।
मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको दरवारका पुजारी शारदा प्रसाद भट्टराइले जानकारी दिनुभयो । गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो । सुसारेहरुले बिहानै ५ बजे जंगलमा गएर नवपत्रिकाहरु संकलन गरेर ल्याए पश्चात त्यही नवपत्रिकाहरुलाई फूलपातीको रुपमा आज हनुमान ढोका पठाइएको भट्टराइले जानकारी दिनुभयो । नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदो लगायत राखिएको हुन्छ ।
प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरु लगायतको उपस्थितिमा फूलपाती पठाइएको हो ।
पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिंडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौं माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।
आज अपराह्न चार बजे बाजागाजा सहित गोरखा दरबारको दशैं घरमा फूलपाती भित्र्याइने दरबार हेरचाह अड्डाले जनाएको छ ।





