काठमाडौँ, असोज १९ । छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधनले आफूखुसी बढी भाडा लिन थालेका छन् । काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनले भाडा बढेको सूची देखाउँदै यात्रुबाट बढी भाडा उठाउन थालेका हुन ।
न्यूनतम १४ रुपैयाँ भाडा तोकिए पनि अहिले यात्रु २० रुपैयाँ तिर्न बाध्य छन् । चार किलोमिटरसम्मको दूरीमा न्यूनतम १४ रुपैयाँ भाडा भए पनि यात्रुले यस अघि पनि १५ रुपैयाँ तिर्दै आएका थिए । छोटो दूरीको भाडा नबढे पनि यात्रु भने ६ रुपैयाँ बढी तिर्न बाध्य छन् । चालक–सहचालकले बढेको भाडादरको सूची नै देखाउने गरेको यात्रुको गुनासो छ ।
उनीहरुले देखाउने भाडादरको सूचीमा सरकारले असोज १५ गते गरेको निर्णय भनिएको छ । तर अहिलेसम्म छोटो दूरीमा भाडा नबढेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भाडाबारे आधिकारिक निर्णय नहुँदासम्म बढी भाडा असुलेको पाइएमा कारबाही हुने बताउनुभयो ।
यस्तै, यातायात व्यवस्था विभागले पनि भाडा नबढेकाले बढी भाडा लिन नपाइने जनाएको छ । सरकारले गएको असार २९ गते लामो तथा मध्यम दूरीमा २८ प्रतिशतसम्म भाडा बढाएको थियो । तर, काठमाण्डौ उपत्यका र जिल्लाभित्र चल्ने गाडीमा भाडा बढेको छैन । यातायात व्यवसायीहरुले भने भाडा समायोजन गर्न माग गर्दै आएका छन् । भाडा बढाउन माग गर्दै उनीहरुले सोमबार काठमाण्डौमा सवारीसाधन तेस्र्याएर विरोध प्रदर्शन समेत गरेका थिए ।





