काठमाडौँ, असोज १२ । आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
रेबिज ‘ तथ्य बुझौँ, त्रसित नबनौँ ’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।
पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो । कुकुरलगायत पशुपक्षीको टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने पुग्ने गरेका छन् । रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।
डाक्टर बाँस्तोलाका अनुसार महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण ज्यान जाने गरेको छ । घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउने लगायतका कारण सङ्क्रमितको ज्यान जाने गरेको उहाँको भनाइ छ ।





