मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धन दल आन्तरिक छलफलमा


१२ आश्विन २०७८, मंगलवार १२:०५ मा प्रकाशित

काठमाण्डौ, असोज १२ । सत्ता गठबन्धनका दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन आन्तरिक छलफलमा जुटेका छन् ।

सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा जुटेका छन् । यी दुई पार्टीले आजै मन्त्रीको नाम टुङ्ग्याउने तयारी गरेका छन् । एकीकृत समाजवादी र जसपाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कसले लिने भन्ने रस्साकसी चलेको छ ।

भौतिक पूर्वाधार जसपालाई दिएर एकीकृत समाजवादीलाई सहरी विकास मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज मन्त्रालय टुङ्गो लागेमा भोलि र नलागेमा पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । मन्त्रालय भागबन्डाका विषयमा मोटामोटी समझदारी भइसकेकाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ नहुने सत्ता गठबन्धनमा आबद्ध नेताहरुले बताएका छन् ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन सहज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here