ट्रायल दिँदा आफ्नै सवारीबाट दिन पाउने व्यवस्था कार्यान्वयन नहुँदै हट्यो


६ आश्विन २०७८, बुधबार १३:४७ मा प्रकाशित

झापा, असोज ६ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन पाउने गरी ल्याएको व्यवस्था कार्यान्वयन नहुँदै यातायात व्यवस्था विभागले हटाएको छ।

यसअघि २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नै सवारीबाट ट्रायल दिन पाउने व्यवस्था गरिएको थियो।

विभागले सो कार्यविधि गत भदौमा पुनः संसोधन गरेर यो व्यवस्था हटाएको हो। अब परीक्षार्थीले ट्रायल सेन्टरकै सवारी चलाउनु पर्नेछ।

यसअघि विभागले परीक्षार्थीको सहजताका लागि आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था ल्याएको थियो। त्यहाँ ट्रायल सेन्टरमा थोत्रा सवारी राखेर परीक्षार्थीहरुबाट चर्को रकम असुल गरिरहेका व्यवसायीहरुको दबाबपछि कार्यविधि संसोधन गरिएको स्रोतको दावी छ।

अहिले ट्रायल सेन्टरहरुले ट्रायल दिनेहरुसँग प्रतिव्यक्ति तीन सयदेखि पाँच सय रुपैयाँसम्म असुल्दै आएका छन्।
त्यस्तै विभागले लिखित परीक्षामा चाररचार अंकका २५ प्रश्न सोध्ने व्यवस्था गरेको छ।

ति प्रश्नको अंकभार १०० राखिएको छ। यसअघि संसोधित कार्यविधिमा पाँच/पाँच अंकका २० प्रश्न सोध्ने व्यवस्था थियो। त्यस्तै लिखित परीक्षा उत्तीर्ण हुन ६० अंक ल्याउनुपर्नेछ।

नयाँ प्रणालीअन्तर्गत लिखित परीक्षा सञ्चालनका लागि विभागले ५०० वटा प्रश्नको संग्रह तयार गरेको छ। सोही संग्रहबाट मात्रै प्रश्न सोधिने उल्लेख छ। ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ। तर नयाँ व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here