आगलागी हुँदा झापामा ३ जना घाइते


२७ भाद्र २०७८, आईतवार ११:२९ मा प्रकाशित

झापा, भदौ २७ । झापामा खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एक घरका तीन घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका र उनीहरूको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको प्र.ना.उ आचार्यले बताउनुभयो । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

विर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here