रजस्वला केन्द्रित सडक नाटक ‘प्याड’


२६ भाद्र २०७८, शनिबार १९:५१ मा प्रकाशित

मेचीनगर, भदौ २६ । महिलाहरुले रजस्वलाका साथै अपनाउनु पर्ने आवश्यक सावधानीमा केन्द्रित रहेर सडक नाटक ‘प्याड’ प्रस्तुत गरिएको छ ।

शनिबार मेचीनगर ७ सत्तिघट्टास्थित वरपिपल चोकमा परिवर्तन थिएटरको समन्वयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले सडक नाटक प्रस्तुत गरेको हो । रोट्रयाक्टका १२७ क्लबले शनिबार (सेप्टेम्बर ११) का दिन विश्वभर कार्यक्रमको आयोजना गरेका छन् । सो अवसरमा क्लबका तर्फबाट दुई सय थान प्याडसमेत वितरण गरिएको थियो ।

नाटकमा खास गरेर किशोरीहरुमा हुने महिनावारीको अवधिमा अपनाउनु पर्ने आवश्यक सावधानीलाई प्रस्तुत गरिएको थियो । नाटकमा महिनावारीको बेलामा बढी स्वस्थ र सुरक्षीत रहन कपडा नभई सेनिटरी प्याडको अनिवार्य प्रयोग गर्नु पर्नेमा जोड दिइएको थियो । नाटकमा अझै पनि कतिपय महिला एवम् किशोरीहरुले महिनावारी हुँदा घरायसी कपडाको प्रयोग गरि रहेको अवस्थाको वास्तविक चित्रण गरिएको थियो ।

थिएटरका १० जना कलाकारको प्रशंसनीय अभिनय देखिएको उक्त नाटकमा ग्रामिण भेगका साथै चिया बगानमा काम गर्ने श्रमिकका घरका किशोरी तथा महिलाहरुले जीविकोपार्जनमै श्रम र आर्जन खर्च गर्न बाध्य हुने र सचेतनाको अभावका अझैपनि महिनावारीको समयमा प्याड नभई अस्वस्थ कपडा प्रयोग गरि रहेको पक्षलाई नाटकमा प्रस्तुत गरिएको थियो ।

अन्धविश्वास, चेतनाको कमी साथै कतिपय परिवारमा श्रीमान मादक पदार्थ सेवनमा लाग्नाले आफ्ना छोरीहरुलाई प्याड खरिद गर्न नसक्ने अवस्थामा आमाहरु कसरी पुग्छन् भन्ने यथार्थ चित्रण झल्काइएको थियो । महिनावारीको समयमा गरिएको एउटा सानो हेलचेक्र्याईले भविष्यमा महिलाहरुमा पाठेघरको संक्रमण तथा क्यान्सर जस्ता घातक रोगहरुको सिकार बन्न बाध्य हुने गरेको समस्यालाई दर्शाइएको थियो ।

क्लबकी सदस्य नियोनिका श्रेष्ठले शब्द स्वागत गरेको कार्यक्रमलाई नाटककी निर्देशक एवम् सुत्रधार कविता नेपाल पोर्तेलले सहजीकरण गर्नुभएको थियो। रिजु कार्कीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष पुस्कर बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका सन् २०२०/०२१ का अध्यक्ष नितेशकुमार सिंह राजपुतलगायत क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।

कलाकारहरुले प्रस्तुत गरेको नाटकमा स्थानीय आमाहरुसमेत स्वतःस्फूर्तरुपमा सहभागी बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here