काठमाडौं उपत्यकामा यो वर्षकै धेरै वर्षा, ४ सयभन्दा बढी घर डुबानमा


२१ भाद्र २०७८, सोमबार १३:१० मा प्रकाशित

काठमाडौं, भदौ २१ । काठमाडौंमा गएराति २ बजेदेखि निरन्तर भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण उपत्यका जलमग्न भएको हो ।

बागमती नदी, धोबी खोला, मनोहरालगायत उपत्यकाका सानादेखि ठूला नदी तथा खोलामा बाढी आएपछि खोलाको तटीय क्षेत्रका बस्तीमा बाढी पस्दा स्थानिय बासिन्दाहरुको बिचल्ली भएको छ । प्रहरीका अनुसार बल्खु, कालीमाटी, कुलेश्वर, कोटेश्वर, शंखमुल, कपन, बालाजुलगायतका क्षेत्र डुबानमा परेका छन्। । महाशाखाका अनुसार ६ घण्टामा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।

हालसम्म बाढीले झण्डै ४ सय घर डुबानमा परेको र करिब डेढ सय जनालाई उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मानवीय क्षतिको खबर छैन ।

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभावका कारण भइरहेको वर्षा दिउँसो केहि कम भएपनि भोलिबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here