सप्तरी, भदौ ८ । सप्तरीमा रोकेर राखिएको टयांकरलाई ट्रकले ठक्कर दिदा भएको दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक र घाइते एउटै परिवारका रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका ४ कदमाहामा रोकेर राखिएको को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका ४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरी प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, ४० वर्षीया उनकी श्रीमती चन्द्रकला र २३ वर्षीय छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरुको लहानमा उपचार भइरहेको छ ।
ट्रक र ट्यांकर नियन्त्रणमा लिइएको तथा फरार भएका ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





