काठमाडौं, भदौ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) ले भोलिको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उहाँको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएको थियो । उहाँहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।
छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।





