झापा । बिर्तामोड नगरपालिका भित्रका मासु व्यवसायीहरुको लागि आयोजित ‘स्वच्छ तथा सफा मासु उत्पादन’विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।
सहारा नेपाल साकोसको साझेदारीमा बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले असार १७ गते देखि नगरपालिकाको सभाहलमा आयोजना गरेको तालिम शुक्रवार सम्पन्न भएको हो ।तालिममा स्वच्छ मासु उत्पादनका लागि आवश्यक तरिका र पुर्वाधारका बारेमा सिकाइएको सहजकर्ता सहारा नेपाल साकोसका कृषि व्यवसाय इकाई प्रमुख डा.कमलेश्वर भाटले जानकारी दिनु भयो ।तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख धुर्वकुमार शिवाकोटीले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्नु पर्ने भन्दै विषादी रहित मासुमा जोड दिन सहभागीहरुलाई आग्रह गर्नु भयो ।
तालिममा बिर्तामोड नगरपालिकाको सबै वडाबाट १४ जना मासु व्यवसायीहरुले सहभागीता जनाएका थिए ।तालिम समापन कार्यक्रममा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
बिर्तामोड नगरपालिकाले सहारा नेपाल साकोसको साझेदारीमा कृषि तथा आवास सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।





