काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यस वर्षको ए डिभिजन लिग असोजको पहिलो साता सुरु गर्ने प्रस्ताव तयार पारेको छ ।
भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो ।एन्फा क्यालेन्डरमा ए डिभिजन लिग भाद्रदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।
यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ ।असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पुर्याउने एन्फाले लक्ष्य राखेको छ ।ए डिभिजनका क्लबसंग छलफल गरेर लिगको मिति पक्का हुनेछ ।नयाँ सिजनको घरेलु लिग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसंग छलफल समेत राखेको छ ।सो छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमा औपचारिक निर्णय गर्नेछ ।
कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन पाएन ।अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना सम्भव नदेखिएपछि एन्फाले २०७७ सालमा पुरा हुन नसकेका क्यालेन्डरलाई पुरा गरेको थियो ।सोही अनुसार एन्फाले बी डिभिजन लिगका बाँकी खेल,सी डिभिजन लिग,महिला लिग,एन्फा प्रेसिडेन्ट लिग लगायतका कार्यक्रम पुरा गरेको थियो ।
घरेलु लिग सञ्चालन हुन नसकेको अवस्थामा एन्फाले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग एनएसएल सञ्चालन गरेको थियो । घरेलु लिगका लागि खेलाडी दर्ता प्रक्रिया भने भदौमा सुरु हुनेछ ।





