सुर्खेत । असार १ गते कर्णालीको २०७८/०८९ को बजेट सार्वजनिक भएदेखि एमालेका कारण बस्न नसकेको कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध भएको छ।
आज (शुक्रबार) बसेको कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत १२ औँ बैठकको कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको हो।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो।यसअघि असार ४, ६, ८ र ९ गतेको सदन एमालेकै कारण सदन नै चल्न सकेको थिएन। तर आज दिउँसो २ बजे बसेको बैठक पनि १५ मिनेटमै स्थगित भएको हो।
प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथिको छलफलको कार्यसूचीमा प्रवेश गर्न दिएन। बैठकमा उपस्थित १२ जना एमालेका सांसदहरू रोष्ट्रममै करिब ५ मिनेट उभिएपछि सभामुख राजबहादुर शाहीले बैठक असार १३ गते दिउँसो २ बजेका लागि सदन स्थगित गर्नु भयो ।
एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन एक कदम पनि चल्न नदिने माग राखेको छ। सदन सुरु हुने बित्तिकै संसदीय दलका नेता तथा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाहले पछिल्लो समय कर्णालीमा कोही सरकारमा कोही प्रतिपक्षमा रहेको प्रचार–प्रसार धेरै भएको भन्दै सदनमा आक्रोश पोख्नु भयो ।
एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका चार जना सांसदमध्ये तीन जना मन्त्री भएका छन्।तीमध्ये अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलले सरकारमा नबस्न र तत्काल मन्त्रीबाट राजीनामा गर्न भनेको छ।





