कोरोना महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय


२ जेष्ठ २०७८, आईतवार १६:१५ मा प्रकाशित

काठमाडौं। सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको हो ।

महामारी नियन्त्रण गर्न कानूनी जटिलता छ भने त्यसलाई पनि फुकाउने निर्णय भएको भन्दै ज्ञवालीले भन्नुभयो, ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं ।’

तत्काल खोप आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको भन्दै मन्त्री ज्ञवालीले थप्नुभयो, ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुली महसुल लगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।’

बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन पनि दिइएको छ ।

खोप लगायतका अत्यावश्यकीय वस्तु अग्रिम भुक्तानी नगरेसम्म नपाइने तर हाम्रो सार्वजनिक खरिद ऐनले एड्भान्स पेमेन्टको परिकल्पना नगरेकाले पनि कानूनी फेरबदल जरुरी भएको उहाँको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here