नेकपा एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन


२ जेष्ठ २०७८, आईतवार १६:०९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएको भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएको हो।

कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने निर्णय भएको नेता नेपालले जानकारी दिए। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले बताए। दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ।

गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here