स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान


२ जेष्ठ २०७८, आईतवार १०:५८ मा प्रकाशित

काठमाडौं ।  चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् ।

महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले बताए ।तातोपानी नाकाका भन्सार अधिकृत नारद गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताए ।

कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ । केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ ।

एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सन्चालन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here