राष्ट्रिय महिला लिग फुटबलमा पुलिसको शानदार जित


९ माघ २०७७, शुक्रबार १९:३९ मा प्रकाशित

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसको मैदानमा भएको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हराएको हो।

एकतर्फीजस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २–२ गोल गर्दा अमृता जैसी र निर्मला विकले एक–एक गोल गरेका थिए ।

तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन्।

पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहार गरेको बलल उदरपुरकी गोलकिपरको हातमा लागे गोलमा परिणत भएको थियो। इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० ले अग्रता लिएको थियो ।

पुलिसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गरेकी थिइन ।

जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here