Monday, 02 November 2026
Suryodaya Online
१६ कात्तिक २०८३, सोमबार
विज्ञापन

फिक्कलमा नार्कोटिक्स एनोनिमसको तीनदिने सम्मेलन, नशामुक्त जीवनको सन्देश फैलाउँदै

Suryodaya Online१६ कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

फिक्कल, इलाम। नशा दुर्व्यसनबाट मुक्त भई स्वस्थ, सभ्य र मर्यादित जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यले नार्कोटिक्स एनोनिमस (NA) को इस्टर्न एरिया सर्भिस कमिटीले इलामको फिक्कलमा तीनदिने सम्मेलन आयोजना गरेको छ।

हिजोदेखि सुरु भएको सम्मेलनले नशा दुर्व्यसनको समस्यामा रहेका व्यक्ति तथा उनीहरूका परिवारलाई आशा, साहस र पुनःस्थापनाको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

सम्मेलनका क्रममा सर्वसाधारण, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सरकारी क्षेत्रका व्यक्तिहरूलाई लक्षित गरी सार्वजनिक सूचना कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा नार्कोटिक्स एनोनिमसको उद्देश्य, अवधारणा, कार्यशैली तथा नशामुक्त जीवन बिताउन यसले पुर्‍याउँदै आएको सहयोगबारे जानकारी गराइएको थियो।

नार्कोटिक्स एनोनिमस नशा सेवनको समस्याबाट मुक्त हुन चाहने व्यक्तिहरूको गैरनाफामूलक तथा स्वैच्छिक समूह हो। यसले नियमित बैठक, आपसी अनुभव आदानप्रदान र पारस्परिक सहयोगमार्फत सदस्यहरूलाई नशारहित जीवन बिताउन प्रेरित गर्दै आएको छ।

संस्थामा आबद्ध हुन कुनै शुल्क लाग्दैन। जाति, धर्म, लिङ्ग वा सामाजिक पृष्ठभूमिका आधारमा कुनै विभेद नगरिने जनाइएको छ। नशा सेवन बन्द गर्ने इच्छा हुनु नै यसको सदस्यताका लागि आवश्यक एकमात्र सर्त रहेको संस्थाले जनाएको छ। संस्था कुनै राजनीतिक, धार्मिक वा कानुनी समूहसँग आबद्ध नरही स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको छ।

नशा दुर्व्यसनलाई व्यक्तिगत कमजोरीका रूपमा मात्र नहेरी सहयोग, सहकार्य र आपसी समझदारीबाट सुधार सम्भव छ भन्ने सन्देश सम्मेलनले दिएको छ। नियमित बैठकमा सहभागी हुने र समूहका सिद्धान्तलाई दैनिक जीवनमा अभ्यास गर्ने प्रक्रियाले नशामुक्त जीवनतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास संस्थाको छ।

तीनदिने सम्मेलनले नशा दुर्व्यसनप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न, प्रभावित व्यक्तिहरूलाई पुनःस्थापनाबारे जानकारी दिन तथा समुदायमा नशामुक्त जीवनप्रति सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private