Monday, 02 November 2026
Suryodaya Online
१६ कात्तिक २०८३, सोमबार
विज्ञापन

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

Suryodaya Online१६ कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

काठमाडौं, १६ कात्तिक। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानको मर्ममाथि भइरहेको प्रहारका विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ।

नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका तथा सरकारका पछिल्ला गतिविधिबारे छलफल हुनेछ।त्यसैगरी, पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्ने विषय पनि बैठकको छलफलको एजेन्डामा समेटिएका छन्।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले अन्य प्रतिपक्षी दलहरूसँग साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाएको हो। बैठकबाट सरकारलाई जवाफदेही बनाउन र प्रेस तथा संवैधानिक स्वतन्त्रताको संरक्षणका लागि संयुक्त रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private