काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समितिको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ। गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धी विषय उठेपछि उनको सुनुवाइ प्रक्रिया रोकिएको थियो। त्यस दिन राजदूत नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो।
सुनुवाइका क्रममा सांसदहरूले थापासँग जापानको पीआर लिएको र त्यसलाई त्यागेको समयावधिबारे प्रश्न उठाएका थिए। जवाफमा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्ट पारेका थिए। तर नेपालको संविधानको धारा २९१ मा रहेको संवैधानिक व्यवस्थाअनुसार उनको नियुक्ति योग्यताबारे थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले निर्णय स्थगित गरेको थियो। यस विषयमा थप जानकारी लिन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण माग गरेको थियो। परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदूतावासमार्फत जापान सरकारसँग आवश्यक जानकारी मागेको छ। तर, बैठक बोलाइँदासम्म जापान सरकारबाट माग गरिएको विवरण प्राप्त नभएको बताइएको छ।
समितिले थापाको विषयमा परराष्ट्र मन्त्रालयको रायसमेत लिएर आगामी कात्तिक १९ गतेभित्र निर्णय गर्ने तयारी गरेको छ। संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार सम्बन्धित निकायबाट नाम प्राप्त भएको मितिले ४५ दिनभित्र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी निर्णय पठाउनुपर्ने व्यवस्था छ। निर्धारित समयभित्र समितिले निर्णय दिन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ।
यसअघि समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरु जोशीसहित विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरिसकेको छ।
त्यस्तै इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले अनुमोदन गरिसकेको छ। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अनुमोदन गरेको थिएन। अब जापानका लागि प्रस्तावित थापाको नियुक्तिसम्बन्धी निर्णयले उनको राजदूत बन्ने प्रक्रियाको आगामी बाटो निर्धारण गर्नेछ।