विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ


२२ श्रावण २०७७, बिहीबार १२:०८ मा प्रकाशित

रुकुम पश्चिम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् ।

गएराति जिल्ला सेक्रेटरी मन्जित भनेर चिनिने हीरामणि रावलसहित चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याउने प्रहरीको तयारी छ ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका–६ का ने.क.पा. विप्लव समूहका जिल्ला सेक्रेटरी हिरामणि रावल (मन्जित), त्रिवेणी गाउँपालिका–५ का ने.क.पा. विप्लव समूहका जिल्ला सदस्य घमन्ड महर, त्रिवेणी गाउँपालिका–२ का अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र त्रिवेणी गाउँपालिका–१ का ने.क.पा. विप्लव समूहका कार्यकर्ता तुलबहादुर घर्ती रहेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर–९ का एक होटेलमा लुकिछिपी बसेको बेला आठबिसकोट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर के.सी.ले जनाकारी दिए ।

पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याएर आवश्यक कारबाही थालिने डिएसपी के.सी.ले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here