काठमाडौं । सरकारले यातायातका साधनमा बिहीबारदेखि नै लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बुढाले खबरहबलाई जानकारी दिए ।
१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोर विजोर हटाएको थियो ।
साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाइ गर्ने निर्णयमा पुगेको हो ।
मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।
यो प्रतिबन्ध २०० भन्दा बढी सक्रिय संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकाको हकमा मात्र भएको मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।






