सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको हो।
मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई उडान पनि असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।एक मन्त्रीका अनुसार देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो निर्णय लिएको हो।
सरकारले पछिल्लो पटक गत ४ जेठको निर्णयानुसार यही जेठ २० गतेसम्मका लागि लकडाउन थपेको थियो। लकडाउनको सुरुमा कोरोना संक्रमित कम थिए। तर लकडाउन लम्बिँदै जाँदा भारतबाट आएका नागरिकसँगै कोरोना पनि तीव्र गतिमा फैलिन थालेको छ।
आजको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ। यो कार्यविधि पास गरेसँगै अब तेस्रो देशबाट नेपालीलाई उद्धार गरेर ल्याउने बाटो खुलेको छ। यसअघि शुक्रबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा अड्किएका नेपालीलाई प्राथिमकताका आधारमा अर्को सातादेखि जहाज पठाएर ल्याउने निर्णय लिएको थियो।उक्त कामका लागि आवश्यक कार्यविधि शनिबारको मन्त्रिपरिषद्मा पेश गरिएको थियो।
सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ। तर उनीहरुलाई ल्याएर काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ।





