नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ४०१ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मा गरिएको परीक्षणमा १ सय २४ जनाको पोजेटि भएको छ ।उनीहरुमध्ये धनुषाका ७ जना २० देखि ४२ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै झापाका एक जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यस्तै ललितपुरकी एक जना २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार महोत्तरीको ४ जना २५ देखि ५५ वर्षीय पुरुषहरु, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुषहरु, सर्लाहीका १७ जना १६ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु र सिराहाका ११ जना १७ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म २१९ पुगेको छ । १७२ जना पुरुष र ४७ महिला रहेका छन् ।हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७२९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्य पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २५७५ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।





