भारतबाट फर्किने क्रमसँगै रौतहटमा संक्रमित बढे


५ जेष्ठ २०७७, सोमबार १२:५५ मा प्रकाशित

रौतहट । पछिल्लो दुई दिनमा मात्र रौतहटमा कोरोना भाइरस (कोभिड–१९) का १८ नयाँ संक्रमित भेटिएका छन् ।

सोमबार सरकारले घोषणा गरेका ९ मध्ये ८ जना संक्रमित रौतहटका हुन् । उनीहरुमा ईशनाथ नगरपालिकाका ७ र माधवनारायण नगरपालिकाको एक जना छन् । आइतबार रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा १० संक्रमित भेटिएका थिए ।

रौतहटबासी रोजगारीका सिलसिलामा भारतका मुम्बइ, गुजरात, कलकता, हरियाणा, बिहार लगायतका स्थानमा पुगेका हुन्छन् । भारतमा लकडाउन खुकुलो भएसँगै उनीहरु घर फर्किन थालेका छन् । भारतबाट फर्किनेहरु बढेसँगै जिल्लामा कोरोना संक्रमित पनि थपिँदै गएका छन् ।

भारतमा रेल सेवा सुरु भएपछि सोमबारसम्म ५२० जना भित्रिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । यसरी आउनेहरुलाई उनीहरुको पायक पर्ने स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरिएको छ । क्वारेन्टाइनमा सात दिन बिताएकाहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइनेछ । ११० जनाको स्वाब संकलन गरेर शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएको थियो ।

‘भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा छन्,’ प्रजिअ घिमिरेले भने ‘भिटिएम अभावका कारण स्वाब परीक्षणको काम सुस्त छ । थप किट माग गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here