धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ, अस्पताल सिल


३ जेष्ठ २०७७, शनिबार १६:२९ मा प्रकाशित

काभ्रे । धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ । विज्ञहरुका अनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको एउटै नमुनाको रिपोर्ट अर्को पिसिआर मेसिनमा नेगेटिभ आउने सम्भावना हुन्छ । धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको श्वासप्रस्वासमा समस्या देखिएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई अस्पताल ल्याइएको थियो । ती महिला सिन्धुपाल्चोकको बाह्राबीसे नगरपालिका वडा नं. ९ निवासी हुन् ।

गत वैशाख २५ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन् । तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो ।

यसैबीच सिन्धुपाल्चोककी ती महिलाको ज्यान गएपछि धुलिखेल अस्पताललाई सिल गरिएको छ । मृत्यु भएकी महिलाको स्वाब धुलिखेलस्थित ल्याबमा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पताल सिल गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here