पसलहरु जोर बिजोर गतेको आधारमा खुल्ने: झापामा लकडाउन कडाईसँगै सीमा अलपत्र नेपालीलाई स्वदेश फकाइने


३ जेष्ठ २०७७, शनिबार १८:३६ मा प्रकाशित

भद्रपुर, (झापा) । कोभिड—१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।

सरकारको उच्चस्तरिय समन्वय समितिले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्दसँगै लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेसँगै झापामा पनि थप कडाई गर्न लागेको हो । जिल्ला समन्वय समिति झापामा शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो लकडाउनलाई थप कडा बनाउनुका साथै सीमा पारी अलपत्र नेपालीलाई स्वदेश फर्काउनेसम्मको निर्णय गरेको छ ।

समितिले आयोजनाको सर्वपक्षिय बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सांसद, पालिकाका जनप्रतिनिधि, प्रहरी, प्रशासन प्रमुख लगायतको उपस्थितीमा यस्तो निर्णय गरिएको हो ।

समितिले यसअघि गरेको निर्णयले लकडाउन धेरै खुकुलो भएको भन्दै अब सवारीपासमा कडाई गर्नुका साथै जिल्लाका खाद्यान्य तथा अन्य पसलहरु जोर बिजोर गतेको आधारमा खुल्ने निर्णय गरिएको अनुगमन समिति तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले बताए ।

त्यस्तै भारतका विभिन्न राज्यमा रोजगारी तथा अध्ययनमा गएका नेपालीहरु सीमा पारी अलपत्र परेकोले उनीहरुलाई स्वदेश फर्काउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

झापाको काकँडभिट्टा सीमा पारी भारतमा एक हजार बढी नेपाली अलपत्र रहेका छन् । उनीहरुको संख्या पनि थपिने क्रममा रहेको जनाइएको छ । उनीहरुलाई कसरी भित्राउने विषयमा प्रदेश सरकारदेखि जिल्लास्तरबाटै पहल सहितको तयारी भइरहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

भारतबाट ल्याउने नेपालीका लागि झापा जिल्लामा क्वारेन्टाइन व्यवस्थापन गर्ने काम भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी उदयराना मगरले जानकारी दिए । जिल्लाका प्रत्येक पालिकाहरुले थप क्वारेन्टाइन निर्माण गरिदिएमा स्वदेश फर्किने नेपालीलाई सहज रुपमा राख्न सकिने उनको भनाई छ ।

सवारीपास सम्बन्धमा गृह निर्देशन बमोजिम नै जिल्ला प्रशासन झापाले जारी गर्ने झापाका प्रमुख जिल्ला अधिकारी उदयराना मगरले जानकारी दिए । उनका अनुसार अतिआवश्यक सवारीसाधनको हकमा पास नलाग्ने तर जिल्लाबाहिर जानु परेमा अनिवार्य पास लिनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here